काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा आएर आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।
मिटरब्याज पीडितसँग छलफल गर्न पुगेका गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गरेका थिए ।
त्यसको जवाफमा मिटरव्याज पीडितले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान लिए र वार्ताका लागि मन्त्री शान्ति बाटिकामा आउनु पर्ने बताए । १८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार सरकारले आयोग गठन गरेको छ ।
तर त्यो सहमतिलाई अपुरो भन्दै मिटरब्याज पीडितको अर्को समूहले आएर काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।