धनगढी । दार्चुलामा नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष र नेपाली कांग्रेसका पूर्व जिल्ला सचिवबीच विवाद हुँदा कुटाकुट भएको छ। बुधबार राति पौने ९ बजेतिर जिल्लाको महाकाली नगरपालिका ४ सुपथ मूल्य पसल अगाडि उनीहरूबीच कुटाकुट भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एमालेका जिल्ला उपाध्यक्ष चरनसिंह बुढाथोकी र कांग्रेसका पूर्व जिल्ला सचिव हरक विष्टबीच कुटाकुट भएको हो। कुटपिटका क्रममा बुढाथोकीले विष्टमाथि ढुङ्गा प्रहार गरेको र उनको हात र खुट्टामा चोट लागेको बताइएको छ। बिना कारण आफूमाथि आक्रमण गरेको र आफू घाइते भएको विष्टले बताए।
यस्तै उनले आज प्रहरीमा बुढाथोकीविरुद्ध उजुरी दिने पनि बताए। तर, उता बुढाथोकीले भने राति मदिरा सेवन गरेर अराजक गतिविधि गरिरहेको र होहल्ला गरेकोले सम्झाइबुझाइ मात्र गरेको दाबी गरे। उनले ढुङ्गा प्रहार नगरेको भन्दै आफूमाथि हात हालेपछि सम्झाएर घर पठाएको जनाए। यस्तै जिल्ला प्रहरी कार्यालयले पनि घटनाबारे जानकारी आएको र दुवै पक्षलाई आज छलफलका लागि बोलाइएको जनाएको छ।