काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुठ्ठिभरका सानो समूहको कब्जामा भएको बताएका छन्।
राप्रपा नेपाल आवद्ध पूर्व प्रहरी परिषद्को बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
दूरदराजमा बस्ने तल्लो वर्गका नेपाली जनताको दुख, पीर मर्का हेर्ने बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरे।
‘भ्रष्टाचार संस्थागत भएको छ, भ्रष्टाचारीलाई संरक्षण गरिएको छ। सत्ता र शक्ति केन्द्रित फोहरी खेलमा मात्र सबैको ध्यान केन्द्रित छ, यसले मुलुकलाई असफल राष्ट्रतर्फ उन्मुख गराउँदैछ’,उनले भने।
अध्यक्ष थापाले सुरक्षाकर्मीको हकहितलाई सुरक्षीत राख्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताए।
उनले द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेकोमा आपत्ति जनाउँदै सबै द्वन्द्वपीडितलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए।
परिषदका अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्य समितिको विस्तारित बैठकले माओवादीका चार हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाखको दरले सरकारी ढुकुटीबाट सुविधा उपलब्ध गराउने सरकारको निर्णयको विरोध गर्दै द्वन्द्वपीडित सबै पक्षहरूलाई उक्त सुविधाबाट वञ्चित गराइएकोले यसले थप द्वन्द्व निम्त्याउने ठहर गरेको छ।
सो बैठकले सम्पूर्ण द्वन्द्वपीडितका परिवारलाई रोजगारको व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेको छ।