काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा अहिले बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा यस वर्ष ४ लाख ८४ हजार २ सय २७ जना सहभागी भएकाे छ ।
परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी भएकाे छ । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी भएकाे छ ।
यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय एसईईमा सहभागी हुँदै छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी कुल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, बाग्मती प्रदेशमा सबैभन्दा बढी ४ सय ३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोसी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट ५ लाख १८ हजार १ सय ८५ विद्यार्थीले आवेदन दिए पनि परीक्षामा भने ४ लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।