काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनहरु फेसबुक र युट्यु्बसँग डराउन नपर्ने जनाएका छन ।
एमालेले संचालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत आज लुम्बिनीमा एक टेलिभिजनको वार्षिक उत्सवको उद्धघाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको जनाए । उनले भने ‘टेलिभिजनहरु युट्युब, टिकटक,फेसबुक आदिसँग तर्सिएको देख्छु’, ओलीले भने, ‘उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन् ।
सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’ विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रशारण शुरु भएको उल्लेख गर्दै ओलीले बदलिंदो समयअनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिए ।