काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि हुने उत्पीडनको अन्त्य नहुने बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताएका हुन्।
उनले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको जिकिर गरे। उनले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताए।
कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दै उनले सबै मानिस एकै भएको उल्लेख गरे। दलित र उत्पीडितजस्ता शब्द नै खारेज गर्नुपर्ने उनको भनाइ छ। उनले छुवाछुत गर्नेलाई आजीवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानुन बनाउनुपर्ने बताए।
उनले भने, ‘नेपालमा उत्पीडन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन। यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन। आफूले आफैलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ। कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्यो भने म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहिँ दलित भइरहनु पर्यो । त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दैन। गर्दै गर्दैन।’


