तनहुँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीयताविरुद्ध षड्यन्त्र भइरहेको बताएकी छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको आज उद्घाटन गर्दै सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सङ्घीयता खर्चिलो, महँगो र भड्किलो भयो भन्ने आवाज सुनिनु दुःखद् भएको बताइन्।
कतिपय बेला सडक, सदन र कतिपय समयमा महत्वपूर्ण मानिएका व्यक्तिबाट पनि त्यस्ता भावना उद्धृत हुने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘सङ्घीयताविरुद्ध आवाज उठाउन हुन्न, सङ्घीयता आवश्यक छैन भन्नु गलत हो।’
कुनै समयमा राजनीतिक अस्थिरताका कारण सरकार सानो ठूलो बनेको भए पनि त्यो एउटा समीक्षाको पाटो हुनसक्ने मन्त्री शर्माको भनाइ छ। उनले भनिन्, ‘वडामा अध्यक्षसहित पाँच प्रतिनिधि रहेका छन्। खर्चका हिसाबले पनि हिजोको भन्दा बढी हुन सक्दैन। हिजोका गाविसले दिने सेवा र आजका गाउँपालिकाले जनतालाई दिने सेवा सुविधामा आकाश पातलको फरक छ।’
विगतमा भएका गल्तीकमजोरीलाई लिएर तीन तहको सरकारको विरुद्धमा जाने कुरा बेठिक भएको बताउँदै उनले संविधानले तोकेअनुरुप केन्द्रका लागि २५ मन्त्री, प्रदेशमा २० प्रतिशतभन्दा माथि जान नपाउने भनेर घटाएर सानो बनाएको स्पष्ट पारिन्। रासस