काठमाण्डाै – भारतसँगको चौथो तथा अन्तिम टेस्टमा पाहुना टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो दिन ४ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको छ । उसका ओपनर उस्मान खवाजा १ सय ४ रन तथा क्यामरन ग्रीन ४९ रनमा अविजित भएका छन् । पाँचौँ विकेटका लागि खवाजा र ग्रिनले ८५ रनको साझेदारी गरेका छन् । खवाजाको टेस्ट करिअरमा यो १४औँ शतक हो । ट्रविस हेड ३२ रनमा आउट भए । स्टिभ स्मिथले ३८, मार्नस लाबुसेनले ३ तथा पिटर ह्यान्डस्कम्बले १७ रन बनाए । भारतका मोहम्मद शामीले दुई तथा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले एक/एक विकेट लिए । चार टेस्ट खेलको शृङ्खलामा भारत २–१ ले अघि छ । अस्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिप–२०२३ को फाइनलमा पुगिसकेको छ । भारतलाई भने फाइनलका लागि अन्तिम खेलमा जित आवश्यक छ ।