काठमाडौँ – सरकारले मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न दिने गरी कुनै निर्णय नभएको प्रष्टीकरण दिएको छ।
शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न दिने निर्णय गरेको बताएका थिए।ओलीको उक्त अभिव्यक्तिको खण्डन गर्दै सरकारले त्यससम्बन्धमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ।
सञ्चारमन्त्री रेखा शर्माले आइतबार विज्ञप्ति जारी गर्दै ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण भएको बताएकी छन्। ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छौँ,’ मन्त्री शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग माग्दै भारतीय दूतावासलाई पत्र लेखेको समाचार सार्वजनिक भएको र यससम्बन्धमा आवश्यक छानविन गरी सत्यतथ्य बाहिर ल्याउने मन्त्री शर्माको भनाइ छ।
‘यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकोले यससम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ। साथै सरकार असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको मन्त्री शर्माले स्पष्ट पारेकी छन्।
‘सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रुपमा यस्ता विषय श्रृखलाबद्धरुपमा सार्वजनिक हुनु दुःखद् छ। परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल दृढतापूर्वक उभिएको छ। नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ।’