काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो।
जसअनुसार अब किसानले दूध बेच्दा प्रतिलिटर ६५.५ रूपैयाँ पाउनेछन्। यसअघि प्रतिलिटर ५६.४ रूपैयाँ थियो।
किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यससँगै अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ। यसअघि राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपैयाँ बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको थियो।
बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाउन प्रस्ताव गरिएको थियो।
मन्त्रिपरिषद्ले उक्त सिफारिसको आधारमा मूल्यवृद्धि गराएको हो। विगत दुई वर्षमा गाईभैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको ब्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि गरेको सिफारिस समितिले जनाएको छ। आर्थिक वर्ष २०६७/६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो। २०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो। दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जानेछ।