काठमाडौं । आजबाट सिनेमा हलमा दुई नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शन भएकाे छ ।
दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन्।
राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ। यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन्। हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।
‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र हो। प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ। ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। मल्टिप्लेक्स हलमा ‘छड्के’ भन्दा ‘छक्का पन्जा ४’ ले बढी शो पाएको छ। दीपक र दीपाको फिल्म ‘छक्का पन्जा’ सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने फिल्म हो। यसैवर्ष ‘छक्का पन्जा ३’ को रेकर्ड तोड्दै ‘कबड्डी ४’ धेरै कमाइ गर्ने नेपाली चलचित्र बनेको छ। दीपकलाई चलचित्रले राम्रो कमाइ गर्नपर्ने चुनौती देखिन्छ।
अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन्। उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्। ‘होस्टल’ बाट डेब्यू गरेका उनले अहिलेसम्म एक फ्लप चलचित्र दिएका छैनन्। अनमोलकै कारण यो चलचित्र चल्ने चलचित्रकर्मीको आशा छ। हलमा कुन चलचित्रले राम्रो कमाइ गर्छ त्यो हेर्न बाँकी छ।

