काठमाडौं। विश्वका प्रमुख औद्योगिक तथा ठूलो अर्थतन्त्र भएका राष्ट्रको समूह जी–२० को विदेशमन्त्रीस्तरीय दुई दिने बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकको आयोजक राष्ट्र भारत जी–२० समूहको अध्यक्ष हो ।
गत वर्षको नोभेम्बरमा भएको बाली शिखर सम्मेलनले भारतलाई समूहको अध्यक्षता सुम्पेको थियो ।
नयाँ दिल्ली बैठकको नारा ‘वसुधैव कुटुम्बकम्ः एक धर्ति, एक परिवार, एउटै भविष्य’ राखिएको थियो ।
मन्त्रीस्तरीय बैठकपछिको परिणाम संक्षेपीकरण दस्तावेजमा भनिएको छ–‘विश्वमा दिगो विकास लक्ष्यप्रतिको धिमा प्रगति, जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधता ह्रास, आर्थिक सुस्तता, कर्जा तनाव, महाव्याधीपछिको अपर्याप्त पुनरुत्थान, बढ्दो गरिबी र असमानता, खाद्य तथा ऊर्जा अपर्याप्तता र विश्व आपूर्ति प्रणालीमा व्यवधान, भूराजनीतिक तनाव र द्वन्द्वहरूको वृद्धिजस्तो बहुआयामिक चुनौतीहरूको दायरा बढ्दो छ । बैठक सामूहिक रूपमा सामना गर्नुपर्ने समकालीन वैश्विक चुनौतीहरूप्रति समर्पित छ ।’


