काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका– ७ घर भई ललितपुर बस्ने २८ वर्षीय प्रकाश घर्ती मगर ट्राफिक प्रहरीको चेकिङमा परे ।
उनले देखाएको लाइसेन्समा शंका लागेर प्रहरीले केही समय रोके । उनको लाइसेन्समा केही समस्या छ कि भनेर यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरियो ।
उनले बोकेको लाइसेन्समा ‘ए’ वर्ग अर्थात मोटरसाइकल स्कूटर र मोपेड, बी वर्ग अर्थात कार, जीप र डेलिभरी भ्यान, एफ वर्ग मिनीबस र मिनीट्रक, जी वर्ग ट्रक, बस र लरी चलाउन मिल्ने भनेर ए, बी एफ र जी लेखिएको थियो । तर, यातायात व्यवस्था विभागको तथ्यांकमा भने बी वर्गको अर्थात कार, जीप र डेलिभरी भ्यान मात्रै चलाउन मिल्ने अनुमतिको लाइसेन्स भएको देखायो । ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान गर्ने निकाय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वरमा बुझायो ।
अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो लाइसेन्समा नयाँ अनुमति थप्नका लागि ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा जाँदा एकजना दलालले थपिदिएको बयान दिए ।
‘निरौला थरका एक व्यक्ति म बनाइदिन्छु भन्दै घर्ती मगरको सम्पर्कमा आएको देखिन्छ । उनले पहिलादेखि नै चिन्थे वा त्यही क्रममा चिनेका हुन् भन्ने खुलेको छैन,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले लोकान्तरसँग भने, ‘हामीले पहिला पक्राउ परेका निरौला थरका व्यक्तिलाई ल्याएर उनलाई देखायौं, तर ती व्यक्ति नभएको पुष्टि भयो ।’


