इटालीको दक्षिणी क्षेत्रमा एउटा डुंगा डुब्दा बालबालिकासहित १०० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको आशंका गरिएको छ।
अहिलेसम्म १२ बालबालिकासहित ६२ जनाको मृत्यु भएको पुष्टि भइसकेको र दर्जनौँ हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार इटालीको क्रोटोन नजिकै उक्त डुंगा दुर्घटना भएको हो। डुंगामा अफगानिस्तान, पाकिस्तान, सोमालिया, सिरिया, इराक र इरानका आप्रवासीहरु रहेको इटालियन अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
डुंगामा करिब २०० जना सवार थिए। डुंगा दुर्घटनापछि क्यालाब्रिया क्षेत्र नजिकैको समुद्र तटमा शवहरू यत्रतत्र छरिएको अवस्थामा फेला परेका थिए।
हालसम्म ८० जनालाई भने जिवितै उद्धार गरिएको छ। हराइरहेकाहरुको खोजी जारी छ।


