वीरेन्द्रनगर- उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
वीरेन्द्रनगर सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए।
उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ।
‘हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ। वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९ प्रतिशतले विश्वासको मत दिएका छन्। सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर विश्वासको मत दिँदा यो एउटा ऐतिहासिक परिघटना बनेको छ’, भाैतिकमन्त्री श्रेष्ठले भने।
प्रधानमन्त्रीका लागि भएको समर्थनको वातावरणले राष्ट्रिय सहमति कायम गर्ने अवसर मिलेको उनले बताए।
सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।