ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) को मुम्बई र दिल्लीस्थित कार्यालयमा मंगलबार भएकाे आन्तरिक राजश्व विभागकाे छापाप्रति बृहन मुम्बइ पत्रकार संघ (बियुजे)ले आपत्ति जनाएकाे छ।
बियुजेले छापालाई धम्की र विनाशकारीकाे संज्ञा दिँदै ब्राेडकास्टमाथि अत्याचार गरेकाे जनाएकाे छ।
बियुजेले सरकारकाे यस्ताे खालकाे कदमले लोकतान्त्रिक नागरिक र संगठनको लागि चिन्ताकाे विषय रहेकाे उल्लेख गरेकाे छ।
बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको एक वृत्तचित्र प्रसारण गरेको हप्तापछि त्यहाँ आन्तरिक राजश्व विभागले छापा मारेको हाे।
सञ्चारमाध्यमका अनुसार राजश्व विभाग कर्मचारीले बिबिसीका कर्मचारीका सबै फोनहरू जफत गरेका थिए। साथै, त्यहाँका कर्मचारी तथा अन्य मानिसलाई आवतजावतमा समेत कडाइ गरिएको थियाे।
वृत्तचित्रले भारत सरकारलाई प्रश्न साेधेकाे थियाे। बिबिसीले भारत सरकारलाई जवाफ दिने अधिकार दिइएको बताएकाे थियो।
मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो।