धनगढी- निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीको मुद्दामा उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी गरेन।
उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। न्यायाधीश देशबहादुर सार्की र न्यायाधीश गणेश ठाकुरको इजलासमा बहस भएको थियो।
माघ २१ गते उच्च अदालत दिपायलमा अरुण चाैधरीका तर्फबाट बन्दी प्रत्यक्षिकरण रिट दर्ता गरिएकाे थियाे।
अरूण कुमार चौधरीको रिटमा उच्च अदालतले माघ २३ गते कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउन अन्तरिम आदेश जारी गरेको हो ।
अरुण चौधरीलाई रिहाइको माग गर्दै न्यायाधीश कोइरालाको इजलासमा बहस भएको थियो । बुधबार निलम्बित प्रतिनिधि सभा सदस्य चौधरीले उच्च अदालतलाई बयान दिएपनि कुनै फैसला नआएको उच्च अदालत दिपायलकी निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन् ।
‘बन्दी प्रत्यक्षीकरणले विपक्षी बनाइएका कैलाली जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कैलालीसँग पनि लिखित बयान माग गरिएको छ,’ निमित्त रजिष्ट्रार रेग्मीले भनिन्, ‘सरकारी कार्यालयको लिखित जवाफ आएपछि पुनः बहस गरेर फैसला आउला।’