दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै समूह २ मा लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।
उक्त समूहमा इंग्ल्यान्डले पनि लगातार दुइ खेलमा जित निकालेको छ। समूहमा भारत, इंग्ल्यान्ड, वेस्टइन्डिज, पाकिस्तान र आयरल्यान्ड रहेका छन्। भारत र इंग्ल्यान्ड बाहेक अन्य टिम जितविहीन रहेका छन्।
केपटाउनमा भएको खेलमा वेस्टइन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ११ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्यो। ४३ रन जोड्दा तीन विकेट गुमाएपनि भारतलाई कप्तान हरमनप्रित कौर र रिचा घोषले समालेका थिए। कौर ३३ रन बनाएर आउट हुँदा घोष भने ४४ रनमा अविजित रहँदै टिमलाई जिताएर फर्किएकी थिइन।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजका लागि स्टाफिनय टेलरले ४२ रन बनाउँदा सेमाइनी क्याम्पबेलले ३० रन जोडेकी थिइन। त्यस्तै चेदेन नेशनले २१ रन बनाएँदा सबिका गजनबीले १५ रन जोडीन। भारतका लागि दिप्ती शर्माले ३ विकेट लिएकी थिइन।