टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौं निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना सहरका अभियोजकले भत्केका भवन सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । टर्की पूर्वी भाग र छिमेकी सिरिया भूकम्पमा परी ३६ हजार बढीको मृत्यु भएको छ । हजारौं घाइते भएका छन् । टर्की कहरामनमारस केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि व्यापक जनधन क्षति भएको छ । भूकम्पले भत्काएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्र्कीमा उद्धारकर्मी अझै संघर्ष गरिरहेका छन् भने भूकम्पको १ सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियामा उद्धार कार्य समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाले लामो गृहयुद्धका कारण राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया सोमबारदेखि राष्ट्रिय शोक घोषणा गर्दै ती स्वयंसेवी संस्थाले राष्ट्रिय झन्डा आधा झुकाएका छन् । दुवै देशका भूकम्पपीडित आंशिक रूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण भत्केका भवन पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ ।