काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको नयाँ दिल्ली र मुम्बईस्थित कार्यालयमा भारत सरकारको आयकर विभागले छापा मारेको छ ।
मंगलबार कर कार्यालयको ६० देखि ७० जनाको टोली बीबीसीको कार्यालयमा पुगेर सिल गरिदिएको हो । भारतीय मिडियाका अनुसार छापा मार्ने क्रममा बीबीसीका कर्मचारीहरूको फोन पनि बन्द गराइएको छ । साथै यस अवधिमा उक्त कार्यालयमा कसैलाई पनि आवतजावत गर्न दिइएको थिएन ।
बीबीसी इन्डियाको व्यवस्थापनले यस घटनाबारे बेलायतस्थित लन्डन कार्यालयमा पनि जानकारी दिइसकेको जनाइएको छ । भारतीय आयकर विभागले भने बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप लागेको थियो । जसकारण सर्भेका लागि त्यहाँ पुगेको कर कार्यालयले जनाएको छ । यस्तै मंगलबार अपराह्न बीबीसी हिन्दीले दिल्ली र मुम्बइ कार्यालयमा आयकर अधिकारीहरू रहेको र आफूहरूले उनीहरूलाई सहयोग गरिरहेको आशयको समाचार प्रकाशन गरेको छ । साथै छिट्टै यो अवस्था सामान्य बन्ने आशा गरेको पनि बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले भने यस घटनालाई अघोषित आपतकाल भनेको छ । यससँगै कंग्रेस लगायत विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति आपत्ति जनाउँदै विरोध गरेका छन् । यसअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादित छविमाथि डकुमेन्ट्री बनाएको थियो । सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री रहँदा त्यहाँ हजारौं मुस्लिम समुदायका मानिसहरूको मृत्यु हुने गरी गरिएको साम्प्रदायिक दंगामाथि उक्त डकुमेन्ट्री केन्द्रित थियो । तर मोदी नेतृत्वको सरकारले उक्त डकुमेन्ट्री प्रतिबन्ध लगाइसकेको छ । उक्त डकुमेन्ट्री प्रतिबन्ध लगाएको केही सातामै कर कार्यालयले बीबीसीको कार्यालयमा छापा मारेको हो ।