काठमाडौं । सोमबार यातायात मजदुरहरूको आन्दोलनका क्रममा गोङ्गबु बसपार्क क्षेत्रका मोबाइल पसलहरूमा भएको लुटपाटको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
मन्त्रालयमा भएको एक छलफलपछि प्रहरीलाई सो घटनाबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिइएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए ।
आठ करोड रुपैयाँ बढीका मोबाइल तथा अन्य सामान लुटपाट भएको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय लगायतका निकायमा ज्ञापनपत्र बुझाएको थियो । गृहसचिव सिंहले यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिइएको जनाए ।
यातायात मजदुरले गरेको आन्दोलनले उग्र रुप लिँदा ल्होत्से मलका माेबाइल पसलमा लुटपाट मच्चिएकाे थियाे । महासंघका उपाध्यक्ष एवं ल्होत्से मलमा रहेकाे मोबाइल पसलका सञ्चालक अर्जुन चालिसेका अनुसार लुटपाट र तोडफोडबाट आठदेखि १० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।