पर्वत । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा मंगलबार एकैदिन १५ वटा खेल हुँदैछन्।
प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद्को आयोजनामा स्याङ्जाको वालिङमा भइरहेको प्रतियोगिताको महिला तथा पुरुष विधामा प्रदेशका ११ वटै जिल्लाले सहभागिता जनाएका छन्। प्रतियोगिता बुधबारसम्म चल्नेछ।
प्रतियोगिताको प्राविधिक समितिका संयोजक नारायणबहादुर भण्डारीका अनुसार महिलातर्फको पहिलो खेलमा लमजुङ र मुस्ताङ, दोस्रो खेलमा पोल ‘ए’ को विजेता र पोल ‘सी’ को रनर अप भिड्ने छन्। तेस्रो खेलमा पोल ‘बी’ को विजेता र पोल ‘डी’ को रनर अपबीच, चौथो खेलमा पोल ‘सी’ को विजेता र पोल ‘ए’ को रनर अपबीच, पाँचौँ खेलमा पोल ‘डी’ को विजेता र पोल ‘बी’ को रनर अपबीच खेल हुनेछ।
महिलातर्फकै छैटौँ खेल पहिलो सेमिफाइनलको खेल हो। जसमा पोल ‘ए’ बाट विजेता बनेको र पोल ‘सी’ बाट रनर अप बनेको टोलीबीच हुने प्रतिस्पर्धामा विजेता बनेको टोली र पोल ‘बी’ को विजेता र पोल ‘डी’ बाट रनर अप बनेको समूहबीच प्रतिस्पर्धा हुने छ। सातौँ खेल तथा दोस्रो सेमिफाइनलमा पोल ‘सी’ बाट विजेता बन्ने तथा पोल ‘ए’ को रनरबीच हुने खेलबाट विजेता बनेर आउने टोली र पोल ‘’डी’ बाट विजेता बन्ने तथा पोल ‘बी’ बाट रनर अप भए आउने टोलीबीच हुने खेलको विजेताबीच प्रतिस्पर्धा हुनेछ।
महिलातर्फको खेलमा पोल ‘ए’ मा म्याग्दी, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र गोरखा, पोल ‘बी’ मा स्याङ्जा, लमजुङ र मुस्ताङ, पोल ‘सी’ मा कास्की र बागलुङ तथा पोल ‘डी’ मा पर्वत र तनहुँ छन्।
पुरुषतर्फको प्रतिस्पर्धामा विभिन्न आठ वटा खेलहरू हुँदै छन्। आजको पहिलो खेलमा गोरखा र लमजुङबीच तथा दोस्रो खेलमा पर्वत र तनहुँबीच खेल हुनेछ। त्यसपछि भने क्वार्टर फाइनलका खेल हुनेछन्, जसमा पोल ‘ए’ को विजेता र पोल ‘सी’ को रनर अपबीच, पोल ‘बी’ को विजेता र पोल ‘डी’ को रनर अपबीच, पोल ‘सी’ को विजेता र पोल ‘ए’ को रनर अपबीच तथा पोल ‘डी’ को विजेता र पोल ‘बी’ को रनर अपबीच खेल हुनेछ।
यी खेल सकिएपछि सेमिफाइनलका दुई खेल हुनेछन्। पहिलोमा पोल ‘ए’ को विजेता र पोल ‘सी’ को रनर अपबीचको खेलबाट विजेता बनेर आउने टोली र पोल ‘बी’ को विजेता र पोल ‘डी’ को रनर अपबीचको खेलबाट विजेता बनेर आउने टोलीबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै दोस्रो सेमिफाइनलमा पोल ‘सी’ को विजेता र पोल ‘ए’ को रनर अपबीच भएको खेलबाट विजेता बनेर आउने समूह र म्याच नं. १६ को विजेता समूहबीच प्रतिस्पर्धा गराइने छ।