काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। उनले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरुलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए। कृषिको सुधारका लागि आवश्यक प्रविधि, ज्ञान र सीप विकासको कुरा प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘नेपालमा पहिलो कृषि नै हो। कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरुतिर जोड दिने एउटा अभियानतिर देशलाई लैजान सकिएन भने आत्मनिर्भरता हुने या अर्थतन्त्रमा सुधार गर्ने अन्य उपायहरु सहायक नै हुन्छन्। त्यसले निर्णायक र गुणात्मक परिवर्तन ल्याउँदैन।’ प्रधानमन्त्री दाहालले देशको आर्थिक विकासको निम्ति संघीय संरचनालाई सुदृढ गर्न जरुरी रहेको बताए। उनले संविधानले परिकल्पना गरेअनुरुप संघीय संरचना चलाउने ऐन नै नबनाइकन संघीयता उपयुक्त भएन भन्ने निष्कर्ष निकाल्नु नहुने बताए।