त्रिशूलि । विदुर नगरपालिकामार्फत् नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ। नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो।
नगरप्रमुखर राजन श्रेष्ठका अनुसार सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर पुर्याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको हो।
‘नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने, ‘अभियानका क्रममा घरपालुवा कुकुरकोसमेत बन्ध्याकरण गरिएको छ भने कुकुर पालनमा हेरचाह गर्न र छाडा नछोड्न सचेतनालगायत कार्यक्रम पनि गरिएको छ।’ Mahendar उक्त अभियानमा पोथी कुकुरको बन्ध्याकरण गरिएको र भाले कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको थियो। बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालनका लागि बनेपास्थित नेपाल पशुकल्याण तथा अनुसन्धान केन्द्रले प्राविधिक सहयोग पुर्याएको थियो।