काठमाडौँ – उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्। शनिबारबाट काठमाडौँमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको बताए। उनले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने उल्लेख गरे। उनले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने सुझाव दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर, अनुशासनहीन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएको उनको भनाइ थियो। उनले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गरे। उनले भने, ‘आज चौतर्फी रुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन्। नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिलेकाहीँ तपाईंले सुन्नुभएको छ। त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ। हामीले यो विद्यार्थी संगठन सशक्त रुपमा अघि बढोस् भन्ने चाहना छ।’