काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार चिकित्सकमाथि कुटपिट गर्ने नेपाल प्रहरीका वरिष्ठ हवल्दार शुम्भुजंग गुरुङ निलम्बनमा परेका छन्। घटनाको अनुसन्धानका लागि गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार गुरङलाई जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो। उनी काठमाडौँ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए। शुक्रबार प्रहरीले लाठी चार्ज गर्दा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह घाइते भएका थिए। उक्त घटनाको विरोधमा नेपाल चिकित्सक संघ आन्दोलित भएको छ। संघले विरोधस्वरुप आइतबार देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।