काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन्। शुक्रबार काठमाडौँमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन्। उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए। मन्त्री किराँतीले महाप्रवन्धक ठाकुरले थाइ स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस लिने गरेकाले निलम्बन गरेको बताए। उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताए। उनले आफूले कसैको पनि एक पैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए। उनले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने उल्लेख गरे। उनले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताए। सुशासन र विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने उनको भनाइ थियो। उनले भने, ‘१० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौं। सुशासन, विधिको शासनभन्दा बाहिर हामी चल्न सक्दैनौँ । चल्ने छुट पनि हामीलाई छैन।’