काठमाडौं । अर्जेन्टिना, चिली, पराग्वे र उरुग्वेले सन् २०३० मा हुने फिफा विश्वकप आयोजनाका लागि संयुक्त रुपमा आधिकारिक रुपमा प्रस्ताव पेस गरेका छन् ।
यी चार देशले विश्वकप सुरुआत भएको १०० वर्षपछि ‘फुटबल जहाँ जन्मिएको हो त्यही पुग्नु पर्ने’ भन्दै मंगलबार आयोजनाको प्रस्ताव पेस गरेका हुन् । विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेको राजधानी मन्टेभिडियोमा आयोजना भएको थियो ।
अर्जेन्टिनी फुटबल एसोसियसन (एएफए) मा आयोजना भएको प्रस्ताव कार्यक्रममा उपस्थित दक्षिण अमेरिकन फुटबल महासंघ (कोन्मेबोल) का अध्यक्ष अलेजान्ड्रो डोमिनग्वेजले सन् २०३० को विश्वकप आयोजना अधिकार दक्षिण अमेरिकालाई दिएर फिफाले ‘महान कार्यको उदाहरण’ दिन सक्ने प्रतिकृया दिए ।
“सन् २०३० को विश्वकप विश्वकपको एक संस्करणमात्र होइन । १०० वर्ष पुगेको पहिचानसहित खुसीयाली मनाउन यो विश्वकप हकदार बन्छ,” डोमिनग्वेजले भने ।
फिफाले सन् २०२६ को विश्वकप अधिकार भने उत्तर अमेरिकाका तीन राष्ट्र मेक्सिको, अमेरिका र क्यानडालाई दिइसकेको छ ।


