काठमाडाैं । मन्त्रिपरिषद् बैठकले प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ।
लामो समयदेखि नेवाः र तामाङ आदिवासीहरुले वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषाको रुपमा मान्यता दिनका लागि संघर्ष गर्दै आएको थियाे ।
नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको पहलमा नेवाः देय् दबू वाग्मती प्रदेश समिति, तामाङहरुको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश समितिले विभिन्न चरणका अभियान समेत संचालन गर्दै आएको हो ।
केहि दिन अघि मात्रै नेवाः देय् दबू वाग्मती प्रदेश समितिले काठमाण्डौ उपत्यकाबाट बाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने ५३ जना प्रदेश सांसदहरुलाई बधाई दिदै भाषा आयोगको सिफारिस अनुसार बाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामाकाजि भाषाको रुपमा मान्यता दिनका लागि आवश्यक कागजातहरु समेत हस्तान्तरण गरेको थियो ।
यसैवीच मंगलवार बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले तामाङ र नेवार भाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न गरेको निर्णय अनुसार कार्यान्वयनका लागि अध्ययन कार्यदल गठन गरेको छ । समितिको सदस्यमा प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर बहादुर तामाङ रहेका छन् ।
उक्त कार्यदलको सदस्य सचिवमा प्रदेश सरकारको एक सचिव रहने छन् भने अर्का एक सदस्य सोही क्षेत्रका विज्ञ रहनेछन् । दुवै सदस्यहरू केही दिनमा नै नियुक्त गर्नेमन्त्रिपरिषदको निर्णय रहेको छ ।


