काठमाडौं । उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको जनाएका छन्। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरू भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापमा सहयोग पुग्ने आशा गरेको जनाए।
सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाका फाइल घुमिराख्ने लालफित्तासाहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने पनि उनले जनाए । देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे।
उनले भने, ‘देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्छु, नेपालमा लगानी गरौँ भन्ने विदेशी उद्योगीलाई यहाँ आउनुहोस् नेपालमा लगानीमैत्री वातावरण छ, सरकारले सबै प्रकारको सुरक्षा गर्छ। सरकारले सबै जिम्मा लिन्छ, लगानी खेर जाँदैन, लगानीको पूर्ण ग्यारेन्टी हामी लिन्छौँ।’