काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम सहित दाङ घोराही उपमहानगरपालिका-१४ नयाँ बजार बस्ने १९ वर्षीय महेन्द्र बुढा मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर विमानस्थलबाट अवैध लागूऔषद ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम सहित लमजुङ बेशीशहर नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-५ डेरा गरी बस्ने २४ वर्षीय युकेन गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई विमानस्थल सुरक्षा गार्ड चन्द्रगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्राउजरको ईजार रहने प्वालभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।