लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि वर्षा र आँधी जारी रहेको बताइएको छ । सोमबार पनि यहाँ थप वर्षा, आँधी र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् । क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार यस प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन । यहाँको राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ । यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ ।