काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने जनाएका छन्। अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले ७४ सालको चूनावमा काठमाडौं उपत्यकामा विवेकशिल साझाका नाममा लहड सुरु भएको र चार वर्ष नपुग्दै चुनाव लड्दा जमानत जफत भएको स्मरण गरे। उनले कुनै पनि समाजलाई नेतृत्व दिनका लागि विचारधारमा आधारित राजनीतिक कार्यदिशा स्पस्ट भएको शक्ति आवश्यक रहेको जनाए । त्यस्तै उनले धेरै राष्ट्रिय दलहरु भए राजनीतिक अस्थिरता, वैदेशिक चलखेल हुने भएकाले मुलुकलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक हुनुपर्ने उल्लेख गरे।
दुनियामा कहीँ पनि राजनीतिक दलहरू मिलेर मुलुक बनेको इतिहास नरहेको भन्दै पोखरेलले देश बनाउन राजनीतिक शक्तिको केन्द्रीकरण अपरिहार्य हुने तर्क गरे। महासचिव पोखरेलले वामपन्थीको सरकारलाई कमजोर पार्न विभिन्न षडयन्त्रहरु हुने गरेको पनि बताए। संसद विघटन कांग्रेसले गर्दा अदालत नबोल्ने र बामपन्थीले ताजा जनादेशमा जाने निर्णय गर्दा अदालत प्रयोग हुने गरेको उनको भनाइ छ।
महासचिव पोखरेलले अहिले पनि राज्य संयन्त्रभित्रको प्रशासनिक ढाँचा पूर्णत लोकतन्त्रीक बन्न नसकेको बताए। कार्यक्रममा उनले आगामी स्ववियु निर्वाचनमा संगठनलाई जिताउनका लागि आवश्यक भूमिका खेल्न निर्देशन दिए।