काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंस्थित न्युरोड बिशाल बजार, कमलादी, खिचापोखरी, त्रिपुरेश्वर, रजिष्टर्ड अफिस (थापाथली), रुपन्देही स्थित बुटबल, कास्कीस्थित पोखरा महेन्द्रपुल, कैलालीस्थित धनगढी चौराहा, मोरङ्गस्थित विराटनगर र पर्सास्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ्ग समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ । खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा रू.५०० र रू.१००० दरका नोटहरू गरी एक पटकमा अधिकतम रू.९९,५०० र दैनिक अधिकतम रू.९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने जनाइएको छ।

