एजेन्सी । वेल्सका लिजेण्ड स्ट्राइकर ग्यारेथ बेलले व्यावसायिक फुटबल खेलाडी जीवनबाट संन्यास लिएका छन्। ३३ वर्षीय बेल पछिल्लो समय अमेरिकी फुटबल क्लब लस एन्जलसबाट व्यवसायिक रूपमा फुटबल खेल्दै आएका थिए।
उनले सामाजिक सञ्जालमार्फत संन्यासको घोषणा गरेका हुन्। आफ्नो करिअरको सुखद् यात्रा उनले रियल मड्रिड छँदा बिताएका थिए। सन् २०१३ मा इंग्लिस क्लब टोटनहम हट्सपरबाट उनी स्पेनी क्लब रियल मड्रिडमा आबद्ध भएका थिए। जहाँ उनले १ सय ७६ खेल खेलमा ८१ गोल गरेका थिए।
साउथह्याम्प्टन, टोटेनहम, रियल म्याड्रिड, एलएएफसी र वेल्ससँगको अन्तर्राष्ट्रिय फुटबलमा उनले आफूलाई एक उत्कृष्ट खेलाडीको दर्जा दिन सफल भएका थिए। खासगरी पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र फ्रान्सका करिम बेन्जेमासँग उनले लामो समय फुटबल खेले। रियल मड्रिडको करिअरमा यी तीन खेलाडी निकै महत्वपूर्ण रहेका थिए। वेल्सबाट १११ अन्तर्राष्ट्रिय खेल खेलेका उनले ४१ गोल गर्न सफल भए। भर्खरै सकिएको विश्वकपमा भने उनको राष्ट्रले अपेक्षाकृत प्रदर्शन गर्न भने सकेन। उनको टोली वेल्स समूह चरणबाटै बाहिरिएको थियो। वेल्सले यस विश्वकपमा एक खेल पनि जित्न सकेन। भलै सन् १९५८ पछि वेल्स विश्वकपमा छानिएको थियो। जसको श्रेय बेललाई नै जान्छ। सन् १९५८ मा भएको विश्वकपमा वेल्स क्वार्टरफाइनलसम्म पुगेको थियो।
फुटबलबाट संन्यास लिएपछि उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा मेरो यात्रा एउटा यस्तो हो, जसले मेरो जीवन मात्र होइन, म को हुँ चिनायो।’ उनले रियल म्याड्रिडमा पाँच पटक च्याम्पियन्स लिग र तीन पटक ला लिगा जिते, जुन अद्भूत उपलब्धि थियो। उनलाई बेलायतको सबैभन्दा ठूलो फुटबल निर्यातमध्ये एक मानिन्छ। बेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सावधानी र सोचविचारपछि मैले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल संन्यास लिने घोषणा गरेको छु।

