काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार कसैले पनि ढाल्न नसक्ने दाबी गरेका छन्। सिंहदरबारमा सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
सरकार निर्माण भएलगत्तै सरकार ढाल्ने हल्ला चलेको भन्दै ओलीले त्यसको पछि नलाग्न पनि आग्रह गरे। उनले ‘यो हल्लै हल्लाको देश’ भनेर कुनै कविले लेखेको, तर यो सत्य नभएको दाबी गरे। ‘यो सरकार कसैले ढाल्दैन। धेरै खेलाडी बाहिर भएका छन्,’ ओलीले भने, ‘उनीहरु रिङ बाहिर भएका छन्। यो सरकार स्थिरताका लागि हो। गिराउने र बनाउने खेलका लागि हैन।’
यो सरकार प्रभावकारी रुपमा अघि बढ्ने ओलीले दाबी गरे। उनले यो स्थायी सरकार हो भन्ने मनमा राखेर काम गर्न पनि उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई आग्रह गरे। उनले अहिलेको सरकार यथास्थितिमा रहने सरकार नभएको भन्दै गतिशील भएर अघि बढ्ने दाबी गरे।
एमालेबाट सरकारलाई पूर्ण सर्मथन र साथ भएको भन्दै ओलीले विश्वासको मतमा १८० को संख्या पुग्ने उनले दाबी गरे। उनले त्यसमा ८८ थपिने भन्दै कांग्रेस पनि आउने संकेत गरे। उनले पानी गिलासमा नहालेर बाहिर हाल्न जरुरी नहुने भन्दै विश्वासको मतमा बाहिर अरुले किन मत दिने भन्दै सबैले मिलेर अघि बढ्न आग्रह गरे।
उनले जनताको अभिमतले बनेको सरकार र प्रतिनिधि सभाले बनाएको सरकार भएकाले आशंका गर्न जरुरी नहुने बताए। उनले समस्यारहित छिमेक सम्वन्ध सञ्चालन गर्दै कसैको विरुद्ध नभइ सबैसँग मित्रता गर्ने उल्लेख गरे।


