काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको जनाएका छन् ।
आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्डले उक्त कुरा जनाएका हुन् । छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए ।
सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’
प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् । छलफल पछि जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए । उनले भने, ‘विश्वासको मत दिनेमा कुनै शंका छैन ।’ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने पत्रकारहरुलाई प्रतिक्रिया दिएनन् ।