काठमाडाैं । नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को लागि आवेदन तथा सफिरिस गर्न आह्वान गरेको छ ।
नेपालको कुनैपनि क्षेत्रमा महिला तथा किशोरी सशक्तिकरणका लागि जुनसुकै प्रकारका योगदान गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिक वा संस्थाले अवार्डको लागि निवेदन वा सिफारिस गर्न सक्नेछन् ।
वार्षिक रुपमा प्रदान गरिने यस अवार्डमा विविधि उद्यम, खेलकुद, शिक्षा, स्वास्थ्य, अधिकार, न्याय, सेवा तथा समुदायिक क्रियाकलापमा उदाहरणीय प्रयास गरेका मध्येबाट एकजनालाई प्रोत्साहन स्वरुप अवार्ड दिँइदै आएको हो ।
गएको १३ औं सागमा नेपाललाई एथलेटिक्समा ऐतिहासिक स्वर्ण दिलाउने राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको अग्रसरता अवार्ड प्रदान गरिदैं आएको छ ।
गत वर्ष विभिन्न काम र संस्थामार्फत माहिला सशक्तिकरणका लागि विभिन्न उदाहरणीय प्रयास गरेकी सानिया गिरीलाई यस अवार्ड प्रदान गरिएको थियो । उनले महिला तथा किशोरीहरुलाई विभिन्न सीप र जागरणमूलक तालिमहरु दिँइदै आएकी छिन् ।
अवार्डमा विशेष ट्रफीका साथमा नगद तीस हजार रुपैयाँ प्रदान गरिनेछ । साथै विजेताले गरिरहेको कार्यलाई थप सहज बनाउन अन्य सहायता पनि अवार्ड स्वरुप ट्रस्टले गर्नेछ । ट्रस्टको संस्थापक जोन इयरले र ट्रस्ट सदस्य डोरियाना दिमित्रोभाको सक्रियतामा अवार्ड आयोजना गरिएको हो । दुवै युरेपेली नागरिक हुन् ।
ग्रामिण विकास र सशक्तिकरणमा सक्रिय इयरले ट्रस्टले धादिङको सिद्धलेख गाउँपालिकामा समुदाय स्तरमा विद्यालय सञ्चालन गरिरहेको छ । त्यस्तै सामुदायिक शिक्षा तथा बालविकास, स्वास्थ्य, खेलकुद विविध उद्यमशीलता लगायतमा तालिम तथा शिविर सञ्चालन, आवश्यक सामाग्री प्रदान, छात्रवृत्ति तथा प्रायोजन, भौतिक संरचना निर्माण, वातावरण संरक्षण गर्ने कार्य गरिरहेको छ ।
अवार्डका लागि यसै पुस २९ गतेसम्म गुगल फारममार्फत निवेदन दिनुपर्नेछ । निवेदन फारम ट्रस्टको वेवसाइटमा उपलब्ध छ ।