काठमाडौँ – सत्ता गठबन्धनमा एमालेको भागमा राष्ट्रपति र सभामुख दुई ठूला पद परेपछि त्यहाँ कसलाई पठाउने भन्ने लेखाजोखा सुरु भएको छ। एमालेबाट औपचारिक रुपमा राष्ट्रपतिको आकांक्षा राख्ने कम देखिएपछि भित्रभित्रै त्यसका लागि दौडधूप गर्नेको संख्या ठूलो छ।
एमालेभित्र राष्ट्रपतिको उम्मेदवारको खोजी हुँदा अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई अघि सार्ने सम्भावना बढेको स्रोतको दाबी छ।
त्यस्तो अवस्थामा पौडेलको नाम अघि सारिएको एमाले निकट स्रोतले जानकारी दियो। पौडेल आफैँले पनि आफ्नो चर्चा राष्ट्रपतिका लागि भएको घुमाउरो रुपमा स्वीकार गरे। देश सञ्चारसँगको संक्षिप्त कुराकानी गर्दै पौडेलले भने, ‘तपाईं जस्तै केही साथीले मलाई यो विषयमा चासो राख्नुभएको छ। कहीँ न कहीँ कुरा भएर चर्चा भएको होला।’
एमालेबाट संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका बलिया दाबेदार भए पनि उनलाई अघि सार्न अध्यक्ष ओली अनिच्छुक देखिएका छन्।
कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले र माओवादी केन्द्रको गठबन्धन बनाउन भूमिका खेलेका नेम्वाङलाई ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना कम हुँदै गएको नेम्वाङका राजनीतिक निकटस्थहरु बताउँछन्। राष्ट्रियसभाका पूर्वसदस्य गोमा देवकोटाको नाम पनि एमाले वृत्तमा राष्ट्रपतिका उम्मेदवारका रुपमा चर्चा छ।
२०७४ सालमा पौडेल आफूले नै अपेक्षा नगरेको अवस्थामा संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए।
संसदीय दलको नेतामा उम्मेदवारी दिने समय सकिन केही मिनेट मात्रै बाँकी रहेका बेला ओलीले निर्देशन दिएपछि उनले दलको नेतामा उम्मेदवारी दिएका थिए। तत्कालीन समयमा माधव नेपाल समूहमा रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै ओलीले सिनबाहिर रहेका पौडेललाई दलको नेता हुँदै मुख्यमन्त्री बनाएका थिए।
७६ वर्षीय पौडेल ४३ वर्षदेखि राजनीतिमा सक्रिय छन्। उनी २०५४ मा हेटौंडा नगरपालिकाको मेयर समेत भएका थिए।
कानुन अनुसार कार्यकाल सकिनुभन्दा एक महिना अगावै राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नुपर्छ। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल फागुन २९ गते सकिने हुँदा निर्वाचन आयोगले माघ २८ अघि नै निर्वाचन सक्ने तयारी गरेको छ। संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नेछ।