काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता गर्ने भएको छ । समाजले काठमाडौं जिल्ला समितिले आउँदो माघ १४ गते शनिबार उपत्यकाका बालबालिकाहरु बीचमा प्रतियोगीता गर्न लागेको हो ।
प्रतियोगीताका संयोजक राजन शाहीले प्रतियोगीताका लागि उपत्यकाभित्रका नाम दर्ता गराएका बालबालिकाहरुबाट अडिसन गरी ४० जना बीचमा अन्तिम प्रतिस्पर्धा हुने बताए । नेवाः लोक गीत वा नेवाः आधुनिक गीतमा मात्र प्रतियोगीता गरिने शाहीले जानकारी गराए । ‘बालबालिकाहरुमा लुकेको प्रतिभा पनि उजागर होस् र यहाँको मौलिक कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा बालबालिकाहरु पनि सचेत बनुन् भन्ने उद्देश्य लिएर प्रतियोगीताको आयोजना गरिएको हो’ संयोजक शाहीको भनाई हो । प्रतियोगीतामा प्रथमदेखि पाँचौं स्थानमा पर्नेलाई ट्रफिसहित पुरस्कृत गरिनेछ ।
त्यस्तै भेषभुषा, हाउभाउ, श्रृङ्गार, कोरीयोग्राफी र प्रस्तुति सामग्रीमा पनि प्रतियोगीहरु पुरस्कृत हुनेछन् । नृत्यमा नेवाः संस्कृति झल्किने सामग्री प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगीतामा भाग लिन इच्छुक १२ देखि २० वर्षसम्मका बालबालिका वा विद्यार्थीहरुले आउँदो पुस पुस मसान्तसम्ममा नाम दर्ता गराउन समाजले आह्वान गरेको छ ।