काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव नआएकाले यस बिषयमा छलफल नभएको जनाएको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कुनै पनि दलले प्रस्ताव नगरेको बताए।
‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा हामी छलफल गरिरहेका छौं। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौं,’उनले भने।
प्रवक्ता खतिवडाले औपचारिक प्रस्ताव आएपछि त्यो प्रस्ताव लायक छ छैन त्यसैअनुसार नै निर्णय हुने बताए। बैठक भोली पनि बस्दैछ। आजको बैठकमा २० जना सदस्यले धारणा व्यक्त गरे।