काठमाडौं । नेपथ्य समूहले नेपालमा मानवताको रक्षा गर्न सबै पक्षसँग अपिल गरेको छ । मानवता प्रवद्र्धनको अभियानसहित थालिएको एक महिने नेपथ्य कन्सर्ट यात्रालाई काठमाडौँमा बिट मार्दै सो समूहले नेपालमा मानवता रक्षाको लागि सबै पक्ष एकजुट भएर हातेमालो गर्नुपर्नेमा जोड दिएको हो ।
आफ्नो अन्तिम साङ्गितिक प्रस्तुतिका रुपमा राजधानी काठमाडौँको भृकुटीमण्डपमा अँग्रेजी नयाँ वर्ष २०२३ लाई समेत स्वागत गर्दै शुक्रबार आयोजित भव्य कार्यक्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले सडकमा ठिहिरिएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै मानवतामाको रक्षा हुने वातावरण बनाउन अपिल गर्नुभयो ।

मानव सेवा आश्रमको आयोजनामा भएको साङ्गितिक कार्यक्रममा उहाँले आश्रममा आश्रित सहयोगापेक्षी सडक मानवहरुको जीवन सहज बनाउन धनले र नहुनेले श्रमले सघाउन अनुरोध गर्नुभयो ।
वरिष्ठ हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधानमन्त्री नेकपा तथा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री पूर्वमन्त्री गगन थापा, पूर्व डिआइजी रमेश खरेल, एमाले नेतृ कोमल वली, अभिनेत्री आँचल शर्मालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी कार्यक्रममा गुरुङले नेपालमै रोजगारीको सिर्जना गरी ऊर्जाशिल युवा वर्गलाई विदेश जान रोक्न पनि आग्रह गर्नुभयो ।

देश बनाउन सबै राजनीतिक नेतृत्वले एक भएर अघि बढ्न सुझाउँदै युवा पुस्तालाई नेपालको कला संस्कृतिको जगेर्नामा लाग्न प्रेरित गर्नुभयो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले समाजमा कसैले पनि खुला आकाशमुनी सहाराविहीन जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले सेवा सञ्चालन गरेको बताउनुभयो । आश्रमले पारिवारिक पुर्नमिलन हुन बाँकी आश्रितहरुको व्यवस्थापनका लागि देशभर निर्माणाधीण र निर्माण हुन बाँकी भवनको लागि आर्थिक सहयोगको जोहो गर्न नेपथ्यसँग सहकार्य गरेको हो ।

गायक गुरुङले नेपत्थ्य ब्याण्डको ‘छेक्यो छेक्यो’, ‘रेशम’, ‘तालको पानी’, ‘लामपाते सुरती’, ‘जोगले हुन्छ भेट’, ‘भेंडाको उन जस्तो’, शिलफूल शिरैमा’लगायतका चर्चित गीतहरु प्रस्तुत गर्नुभयो । साथै, ब्याण्डका कलाकारहरुले मादल तथा गीतारको अतिरिक्त प्रस्तुति दिनु भएको थियो ।
करिब पाँच हजार दर्शकको उपस्थितिले भृकटीमण्डप नेपथ्यमय बन्यो । अन्तिम समयसम्म पनि दर्शक स्रोताको चाप बढेपछि बन्द गरिएको टिकट विक्रीपछि पनि बाहिरको पर्खाल र रुखहरुमा चढेरसमेत दर्शकले मनोरञ्जन लिएका थिए ।

नेपथ्यको गीत सङ्गीत सँगसँगै झुमेका दर्शक स्रोताले भृकुटीमण्डपमै नयाँ अँग्रेजी वर्ष र गायक गुरुङको जन्म दिन पनि एकसाथ मनाएका थिए ।
मानवता प्रवद्र्धनका लागि गत मङ्सिर १९ गते विराटनगरबाट शुरु भएको नेपथ्य सङ्गीत यात्रा पुस १६ गते शनिबार काठमाडौँमा आएर सकिएको होे । यसअघि मङ्सिर १९ गते विरगञ्ज, २२ गते हेटौँडा, २५ गते चितवन, २९ गते नेपालगञ्जमा सांगितिक कार्यक्रम भयो । त्यसपछि पौष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र १२ गते पोखरामा भएको थियो ।
वि.सं २०६९ सालमा स्थापना भएको उक्त आश्रमले आठ हजार बढीको उद्धार गरेको छ । करिब ६ हजार जनालाई परिवारमा पुर्नमिलन गराइएको छ भने एक हजार ६०० सडक मानवहरु आश्रमा रहनुभएको छ । धेरैजसो मानसिक रुपमा विछिप्त, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक र अशक्त तथा सडकमै जन्मिएका बालबालिका हुनुुहुन्छ ।
देशका १९ जिल्लामा २३ शाखामार्फत् सेवा गर्दै आएको छ । २०८२ सालभित्र नेपालका सडकलाई सडकमानवरहित बनाउने अभियानमा आश्रम सक्रिय छ । चाँदनी हमाल गाेरखापत्रबाट


