काठमाडौं। लम्जुङ, मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेस्थित सडकमा ग.३ च ८३६१ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-८ भुस्मे बस्ने ४७ वर्षीया भिव कासी तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल लम्जुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन र १ जनालाई अन्नपूर्ण अस्पताल पोखरातर्फ रिफर गरिएको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुर, बकैया गाउँपालिका-५ तिनतलेस्थित सडकमा ना.२२ प ९९७७ नम्बरको मोटरसाइकललाई ना.७ ख १३५२ नम्बरको ट्रकले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र ट्रकमा सवार १ जनाको हेटौंडा अस्पतालमा तथा ट्रक चालकको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 5 दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


