काठमाडौं । चीनले सप्ताहन्तको युद्ध अभ्यासमा ७१ वटा लडाकु विमान तैनाथ गरेको ताइवानले आरोप लगाएका छन् । चीनले ताइवानको वरिपरि सप्ताहन्तको सैन्य अभ्यासमा ७१ वटा लडाकु विमानहरू तैनाथ गरेको ताइपेईको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । उक्त अभ्यासमा दर्जनौं लडाकु विमानहरू समावेश गरेको र हालसम्मको सबैभन्दा ठूलो दैनिक आक्रमणहरू मध्ये एक रहेको मन्त्रालयको भनाई छ ।
चीनको जनमुक्ति सेनाले संयुक्त राज्य अमेरिका र स्वशासित टापुले उब्जाएको ‘उत्तेजना’ र ‘साँठगाँठ’ को जवाफमा आइतबार प्रभावकारी अभ्यास गरेको बताएको थियो । दैनिक हिसाब राख्न थालेपछि ती अभ्यासहरू सबैभन्दा ठूलो मध्ये एक रहेको ताइवानको रक्षा मन्त्रालयको तथ्यांकलाई उदृत गर्दै फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ । तर ताइवानले ट्वीटरमा एक पोष्ट गर्दै लेखेको छ, “६० वटा लडाकु विमानहरूले अभ्यासमा भाग लिएका छन्, जसमा छवटा एसयू–३० लडाकु विमानहरू छन्, जुन चीनका केही अत्याधुनिक प्रविधिका छन् ।” यसबाहेक ४७ वटा उडानहरू टापुको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको बताइएको छ ।
जुन तेस्रो उच्च दैनिक आक्रमण रहेको एएफपीको डाटाबेसले उल्लेख गरेको छ । ताइवानलाई चीनले आफ्नो क्षेत्रको भागको रूपमा दाबी गर्ने गरेको छ । तर ताइवान भने एक दिन चीनले कब्जा गर्नेछ भन्ने निरन्तर आक्रमणको खतरामा बाँचिरहेको छ । चीन–ताइवान सम्बन्ध बिग्रिँदै गएपछि राष्ट्रपति सी चिनफिङको नेतृत्वमा ताइवानमाथि सैन्य, कूटनीतिक र आर्थिक दबाब बढाउँदै लगेको छ । चीनले आइतबारको अभ्यासका लागि परिचालन गरिएका विमानहरूको संख्या र यी युद्ध अभ्यासहरूको सही स्थानबारे जानकारी दिएको छैन । एएफपी


