काठमाडाैँ – निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ।
नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलाइन्सले भोलि बिहीबार प्रदर्शन उडान गर्न लागेको हो ।
यती एयरलाइन्सले चालक दलका सदस्यलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता बर्तौलाले बताए।
यसरी हुने उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने सो एयरलाइन्सले जनाएको छ।
काठमाडौँबाट पोखराका लागि यतीले दैनिक सातवटा उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको सङ्ख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ। – रासस


