एजेन्सी । अमेरिकामा गत वर्ष भएकाे क्यापिटल हिल हिंसाकाे छानबिन गर्ने समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विद्रोहलगायत आपराधिक मुद्दामा कारबाही गर्नुपर्ने बताएकाे छ।
डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको समितिले सर्वसम्मतिले ट्रम्पविरुद्ध मुद्दा चलाउन न्याय विभागसँग वकालत गरेको छ।
समितिले डोनाल्ड ट्रम्पका पूर्वसहयोगी होप हिक्सको क्लिप पनि अगाडि राखेको छ, जसले चुनावमा हार स्वीकार गर्न अस्वीकार गरेको देख्न सकिन्छ।
जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा आक्रमण गरेको तस्बिरहरू विश्वभर चर्चाको विषय बनेको थियो। ट्रम्प समर्थकहरूले जो बाइडेनलाई राष्ट्रपतिकाे रूपमा विरोध गरेका थिए।
वासिङ्टन सहरमा भएको यस हिंसामा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियाे।
प्रतिनिधिसभाको छनोट समितिले करिब १८ महिनादेखि क्यापिटल हिल दंगाको अनुसन्धान गरिरहेको छ। सोमबारको अन्तिम बैठकमा समितिले ट्रम्पलाई चारवटा आरोपको सामना गर्नुपर्ने सिफारिस गरेको थियो।


