युरोपियन युनियनपछि संयुक्त राष्ट्र संघले पनि ट्वीटरमा केही पत्रकारको खाता निलम्बन गर्ने निर्णयको विरोध गरेको छ।
ट्विटरले न्युयोर्क टाइम्स, सिएनएन र वासिङ्टन पोस्टका पत्रकारको खाता बन्द गरेको थियाे।
ट्वीटरका एक प्रवक्ताले पत्रकारहरूको ट्विटर खाताहरू लोकेशन डाटाको लाइभ साझेदारीको लागि निलम्बन गरिएको बताएका छन्।
संयुक्त राष्ट्र संघका ग्लोबल कम्युनिकेसन्सका उप-महासचिव मेलिसा फ्लेमिङले ट्वीटरबाट पत्रकारहरूलाई निलम्बन गरिएको खबरले चिन्तित भएको बताइन्।
उनले भनिन्, ‘मिडिया स्वतन्त्रता खेलौना होइन। स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशीला हो र हानिकारक विकृति विरुद्धको लडाईमा महत्त्वपूर्ण भूमिका खेल्छ।’
यसअघि शुक्रबार युरोपेली युनियनले ट्विटरलाई युरोपको नयाँ डिजिटल सेवा ऐन अन्तर्गत प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।
एलोन मस्कले यस विषयमा ट्विट गर्दै भनेका छन्, ‘दिनभर मेरो आलोचना गर्नु एकदमै राम्रो हो तर मेरो वास्तविक स्थानको बारेमा बताउन र मेरो परिवारलाई खतरामा पार्नु ठीक होइन।’


