विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगलका प्रशिक्षक फर्नान्डोज सान्तोषले टिमको जिम्मेवारी छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ। कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग १-० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो।
पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले पद त्यागेको बताइएको छ। केही दिनअघि उनले संघसँग छलफलपछि निर्णय गर्ने बताएका थिए। सन् २०१४ देखि पोर्चुगलको प्रशिक्षक रहेका सान्तोसले पोर्चुगललाई २०१६ को युरो कप उपाधि दिलाएका थिए। यस्तै २०१९ को युइएफए नेसन्स लिग पनि जिताएका थिए।
सान्तोषले अन्तिम खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेको र टिम पराजित भएपछि उनको आलोचना भएको हो। त्यसअघि अन्तिम १६ मा स्वीजरल्याण्ड विरुद्धको खेलमै रोनाल्डोलाई बेन्चमा राख्दै गोन्सालो रामोसलाई पहिलो रोजाइमा खेलाएका थिए। जहाँ रामोसले ह्याट्रिक समेत गरे।
पोर्चुगल फुटबल संघले ८ वर्षसम्म गरेको योगदानका लागि सान्तोसलाई धन्यवाद दिँदै नयाँ प्रशिक्षक छनोटको प्रक्रिया अघि बढाउने जनाएको छ। संघले भनेको छ ‘एफपिएफ फर्नान्डो सान्तोस र उनको ट्याक्निकल टिमलाई धन्यवाद दिन चाहन्छ। उनले ८ वर्ष सम्म टिमलाई विश्वास गरेर महत्वपूर्ण सफल्ता दिलाएकोमा एफपिएफ आभारी छ।’