काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा कांग्रेस नेता डा शेखर कोइरालाले प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैं दाबेदार हुन् भने शेखर समूहबाट महामन्त्री गगनकुमार थापा पनि संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने भएपछि महामन्त्री थापा संकटमा परेका छन् । डा. शेखरले सार्वजानिक रुपमा केही नबोले पनि नेताहरुसंगको भेटमा संसदीय दलको नेतामा आफू प्रतिष्पर्धा गर्ने बताइसकेका छन् ।
कोइरालाले धेरै छलफलपछि आफू नै दलको नेतामा उम्मेदवार बन्ने निधो गरेको कोइरालाका राजनीतिक सल्लाहकार एवं राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जानकारी दिए । आचार्यले भने, ‘शेखर कोइरालाले कुनै पनि बेला दलको नेतामा उम्मेदवारी घोषणा गर्नुहुन्छ । उहाँ अन्तिम गृहकार्यमा जुट्नुभएको छ । आज/भोलि नै उहाँले यो घोषणा गर्नुहुन्छ ।’
नेताहरुका अनुसार संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चित जस्तै छ । तर संसदीय दलको नेताको प्रतिष्पर्धामा उत्रने हठ महामन्त्री थापाले देखाएका कारण १४औं महाधिवेशनपछि बनेको डा शेखर समूहको विभाजित हुने भन्दै नेता सहमति खोज्न भन्दै दौडधुप गरिरहेका छन् । गगनका ससुरासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसीलगायतका नेताहरुले समूहका नेताहरुसँग निरन्तर सम्वाद पनि गरेका छन् । तर सहमतिको संकेत देखिएको छैन । शेखर र उनी निकट नेताहरु गगनलाई संसदीय दलको नेताको उम्मेदवार छाड्न तयार छैनन् ।
समूहका नेताहरुसँग छलफल नै नगरी संसदीय दलको नेताको उम्मेदवारका रुपमा अघि सारेकोमा असन्तुष्ट नेताहरु गगनको पुस्तान्तरणको नारामा समेत रुष्ट छन् । डा शेखर निकट एक नेताले भने, ‘आफ्नो समूहका छलफल भएको छैन् । गगनजीले घोषणा गरेर मात्र हुँदैन् । गगन जी कहाँ पुग्नुहुन्छ थाहा छैन् । रामचन्द्र दाइ कृष्ण दाइ, प्रकाश दाइको काँधमा चढेर पड्काइ सक्नुभयो । अहिले विश्वजीको काँधमा चढ्नुभएको छ ।’
डा शेखर निकट नेताहरुले गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग बढ्दो समिप्यतालाई लिएर समेत प्रश्न गर्छन् । गगनले दलको नेता लड्ने घोषणा गरेपछि शर्माले सार्वजनिक रुपमै समर्थन गरेका छन् । उनीहरुका अनुसार अब महामन्त्री गगन आफ्नो निर्णयमा पुनर्विचार गर्न तयार हुने हो भने सहमति खोज्न सकिन्छ । नभए डा. शेखरले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने छन् । महामन्त्री गगन भने १५औं महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने बचन दिन तयार रहेको सन्देश पठाएका छन् । तर संसदीय दलको नेतामा प्रतिष्पर्धामा उत्रिएर १४ औं महाधिवेशनपछि बनेको डा शेखर समूहको नेता आफै बन्ने तयारीमा लागेको डा शेखर समूहको बुझाइ छ ।
शेखर र गगन पनि १४औं महाधिवेशनमा मात्र जोडिएका हुन् । यो समूहबाट धनराज गुरुङ उपसभापति, गगन महामन्त्री, जीवन परियार र बद्री पाण्डे सहमहामन्त्री चुनिएका छन् । उनीहरुसहित समूहका नेताहरुले शेखरलाई नै समूहका नेता मान्दै आएका थिए । दलको नेताबारे फेरि छलफल गर्ने भन्दै उठेका दुई नेताबीच फेरि सम्वाद नै हुन सकेको छैन ।