काठमाडाैं । भारतको अरुणाचल प्रदेशको तवाङमा चिनियाँ सैनिकहरू प्रवेश गरेपछि भारतीय सैनिकहरूसँग झडप भएको भारतका सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
शुक्रवार (डिसेम्बर ९) को राति भएको झडपमा दुवै पक्षका सैनिक घाइते भएका छन् । भारतीय सेनाले आफ्ना ६ जना सैनिक घाइते भएको जानकारी दिएको छ ।
गुवाहाटीस्थित सैन्य अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ । तीनसयदेखि ४०० चिनियाँ सैनिकहरू भारतीय भूमिमा आएको र उनीहरूलाई पनि चोट लागेको बताइएको छ ।
चिनियाँ जनमुक्ति सेनाले आफ्ना घाइते सैनिकका बारेमा केही बताएको छैन ।
झडपलगत्तै दुवै पक्ष आआफ्नो स्थानमा फर्केको भारतीय सेनाले जनाएको छ । एरिया कमान्डर स्तरमा बैठक भएको पनि जानकारी छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, परिस्थिति अनुकूल भएको मौका छोपी चिनियाँ सैनिकहरू भारतीय भूमिमा प्रवेश गरेका थिए । पूर्वी तवाङको यांग्त्से पोइन्टमा झडप भएको हो । यसलाई दुवै पक्षले विवादित इलाकामध्ये एक मानेका छन् । यांग्त्से पोइन्टमा एउटा नाला छ । त्यसको एकातर्फ भारतीय अनि अर्कातर्फ चिनियाँ सैनिकहरू तैनाथ छन् । डिसेम्बर १० को बिहान ३ बजेतिर चिनियाँ सैनिकहरू नाला तरेर भारतीय भूमिमा आएका थिए । पहरा दिइरहेका सैनिकलाई कुटपिट गरेको आवाज आएपछि तत्कालै ८० जना जति सैनिक पठाइएको थियो । अँध्यारोमा चिनियाँहरूलाई लखेटिएको भारतीय सेनाको दाबी छ ।


